आन्दोलनको मैदानबाटै सेटिङमा बढाइयो शेयर मूल्य ! बेलुन जसरी फुलाउने प्रयासले नवप्रवेशी र साना लगानीकर्ताहरु जोखिममा

७ आश्विन २०७८, बिहीबार ०६:५५

काठमाडौं । लगातार घटिरहेको शेयर मूल्यमा यो साताको पछिल्लो दुई दिन नाटकीय रुपमा मूल्य बढेको छ । ठूलो लगानीकर्ताहरुले शेयर बजारमा चलेखल गरेर अस्वाभिक रुपमा मूल्य बढाएपछि नव प्रवेशी र साना लगानीकर्ताहरु नराम्ररी फस्ने जोखिम बढेको छ । रोचक कुरा के छ भने माफियाको पक्षमा भइरहेको आन्दोलनकै मैदानबाट शेयर मूल्यबृद्धि गरी केही व्यक्तिले नेपालको पुँजि बजार आफ्नो हातमा रहेको दावी गर्र्न थालेका छन् ।

शेयर बजारलाई जुवाको खाल जस्तै बनाइरहेका केही सीमित माफियाहरुका कारण सिंगो पुँजि बजार तथा नवप्रवेशी र साना लगानीकर्ताहरु जोखिममा परेका छन् । ठूला लगानीकर्ताहरुले मनमौजी रुपमा शेयर बजारलाई तलमाथि पार्न थालेपछि शेयर बजारमा नव प्रवेशी तथा साना लगानीकर्ताहरु असुरक्षित भएका हुन् । राष्ट्र बैंकले शेयर धितोमा लिने ऋणको सीमा १२ करोड रुपैयाँ भनेर तोकेपछि राष्ट्र बैंक र अर्थमन्त्रीलाई बद्नाम गर्न लगातार शेयर मूल्य घटाएका माफियाहरुले पछिल्लो दुई दिनमा लगातार शेयर मूल्य बढाइरहेका छन् ।

पछिल्लो १५ दिनमा पाँचसय अंकको गिरावट आएको नेप्सेमा बुधबार एकाएक १०४ अंकको उछाल आएपछि नेपाली पुँजि बजार स्वतन्त्र रुपमा खरिद बिक्रीको आधारमा नभई माफियाहरुको मनोमानी तथा तजबिजीमा बजार मूल्य तय हुने देखिएको छ । स्वतन्त्र रुपमा शेयर मूल्य तलमाथि हुने प्रक्रियालाई अबरुद्ध गर्दै माफियाहरुले कसैका विरुद्धमा प्रतिशोध साध्ने हतियारको रुपमा शेयर मूल्यमा चलखेल गर्दा समेत नियामक निकाय नेपाल धितोपत्र बोर्डले कारवाही गर्न सकेको छैन ।

रोचक कुरा के छ भने आन्दोलनको मैदानमा रहेका शेयर बजारमा खेलाडीहरुले बुधबार विहान कारोबार सुरु हुनुअघि जति पुर्याउने भनेर स्टाटस हालेको थिए । अपरान्ह कारोबार बन्द हुँदा स्टाटस अनुसार नै मूल्यबृद्धि गराएर माफियाहरुले नेपालको शेयर बजार रिमोट आफ्नो हातमा रहेको पुष्टि गरेका छन् ।

गभर्नर र अर्र्थमन्त्रीका विरुद्धमा आन्दोलन गर्दै आएका शेयर बजारका खेलाडी दीपेन्द्र अग्रवालले बुधबार विहानको फेसबुक स्टाटसमा नेप्से १०० अंकभन्दा बढिले बृद्धि हुने उल्लेख गरेका थिए । उनले स्टाटस हालेकै आधारमा बुधबार शेयर मूल्य बृद्धि भएपछि शेयर बजारमा पूर्ण रुपमा माफियाहरुको हातमा रहेको पुष्टि भएको हो ।

माफियाहरुले अस्वाभाविक रुपमा घटाउने र बेलुन जसरी फुलाउने प्रयासले नव प्रवेशी तथा साना लगानीकर्ताहरु मारमा पर्ने देखिएको छ । आज १०४ अंकले शेयर मूल्य बृद्धि गर्ने माफियाहरुले उनीहरुलाई मन लागेका बखत १००० अंकले घटाउदैनन् भन्ने आधार के ? शेयर बजारको यो अवस्था तत्काल समाधान नभए साना लगानीकर्ता र नव प्रवेशीहरु आत्महत्या गर्ने अवस्थामा पुग्दैनन् भन्न सकिदैन ।

बुधबारको घटनाले शेयर माफियाहरुले आफ्नो अपराध लुकाउन आन्दोलनको नाटक गरेको र आन्दोलनको मैदानबाटै घटेको शेयर मूल्य बाउन्स ब्याक गर्न सफल भएको देखाउन सफल भएका छन् । स्वतन्त्र रुपमा मूल्य कायम हुनुपर्ने पुँजि बजार अब झनै शंकाको घेरामा परेको छ । माफियाका ग्याङमा बसेर ग्याङको सेटिङ अनुसार खरिद बिक्री नगर्नेहरुले धितोपत्र बजारमा लगानी गरेर प्रतिफल लिन निकै कठिन हुने अवस्था सिर्जना भएको छ । माफियाहरुको सेटिङभन्दा बाहिर बसेर आफुखुशी शेयर कारोबार गर्नेहरुले मुनाफा कमाउने भन्दा पनि डुब्ने देखिएको छ ।

माफियाहरुले सामूहिक रुपमा योजनाबद्ध खरिद बिक्रीका लागि नेटिङ सहयोग गरिरहेको देखिएको छ । कम्पनीको वित्तीय विवरण, ब्राण्ड भ्यालु, प्रगति आदिका आधारमा कम्पनीहरुको शेयर मूल्य निर्धारण हुने नभई माफियाहरुको समुहलाई योनजाबद्ध घटबढ गर्ने प्रवृत्तिले आगामी दिनमा शेयर बजारमा गरिने लगानी थप जोखिमपूर्ण बन्न पुगेको छ ।

आजको तथ्याङ्क अनुसार बुधबार सबैभन्दा धेरै २२ करोड रुपैयाँको कारोबार भएको अरुण भ्याली हाईड्रोपावरको शेयर ७ प्रतिशतले मात्रै बृद्धि भएको छ । बुधबार सर्वाधिक १० प्रतिशत मूल्यबृद्धि भएको मध्ये एक प्रिमियर इन्स्योरेन्स कम्पनीको जम्मा तीन करोड रुपैयाँको शेयर कारोवार भएको छ । त्यस्तै अर्को सर्वाधिक १० प्रतिशत मूल्यबृद्धि हुने बेष्ट फाइनान्स कम्पनीको पनि धेरै शेयर कारोबार भएको छैन । यसले समेत बुधबारको शेयर बजार अप्रत्यासित रुपमा बृद्धि भएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*