दैनिक अर्बौको नेटिङ, के होला ब्रोकर कम्पनीमाथि कारवाही ?
काठमाडौं । ब्रोकर कम्पनीहरुले आफूलाई बैंक जसरी लगानीकर्ता कर्जाको निक्षेप आफ्नो खातामा राखेर शेयर कारोबार गरिएको सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्ड तातेको छ । पहिलो पटक बाहिर आएको उक्त विषय सबैका लागि नयाँ बनेको छ । यद्यपि दैनिक अर्बौकै नेटिङका कारण यसअघि शेयर बजार बेलुन जसरी फुलेर ३२०० सम्म पुगेको र अहिले धरातलीय व्यवसायमा फर्कदा शेयर बजारमा बियरिस हुँदै गरेको देखिएको चर्चा छ ।
धितोपत्र ऐनले निषेध नगरेको, नेटिङ गरेमा के कारवाही गर्ने भन्ने स्पष्ट व्यवस्था नभएका कारणले हाल ब्रोकर कम्पनीहरुको खाताबाट भइरहेको अर्बौ रुपैयाँको शेयर कारोबारबारे नेपाल धितोपत्र बोर्डले हिजोबाटै सुक्ष्म अध्ययन सुरु गरेको जनाएको छ । बोर्डले ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई शेयर बिक्री बापतको रकम बैंक खातामा भुक्तानी नगरी सोही मौज्दातबाट पुनः शेयर खरिद गर्दा परेको प्रभावको सम्बन्धमा छलफल गरिएको जनाएको छ ।
यस पटक बेलुन जसरी फुलेर शेयर कारोबार उच्च बिन्दुमा पुग्नु र सोझा लगानीकर्ताहरु फस्नुमा माफिया र ब्रोकर कम्पनीहरु मिलेर सेटिङमा नेटिङमार्फत ठूलो भोल्युममा कर्नरिङ भएको आशंका समेत गरिएको छ । रकम भुक्तानी गर्नु नपर्ने, ब्रोकर कम्पनीहरुका बीचमा सहमित गराई माफियाहरुको डिजाइनमा शेयर बजारलाई बेलुनको आकारमा ३२०० को बिन्दुमा पर्याएको कोणबाट समेत अध्ययन, अनुसन्धान हुनुपर्ने बजार विश्लेषकहरुको भनाई छ ।
सोझा लगानीकर्तालाई शेयर मूल्य बढेको भन्दै फसाउने र आपसी मिलेमतोमा दैनिक अर्बौ रुपैयाँको कारोबार देखाएर नियामकको आँखामा छारो हालेर सिंगो बजारलाई कब्जामा लिएको होइन भन्न मिल्ने आधारहरु नभएको तथ्यहरुले औल्याएकोे छ । शेयर खरिद बिक्री बापतको रकम भुक्तानी गर्नु नपर्ने र आपसी समझदारीमा नेटिङ गरी ठूलो मात्रामा शेयर कारोबार भएको देखिएको छ ।
के हो नेटिङ ?
शेयर लगानीकर्ताले आफूले बिक्री गरेको शेयर बापतको रकम आफ्नो बैंक खातामा नल्याई ब्रोकर कम्पनीकै खातामा राखेर पुनः शेयर खरिद गर्ने कार्यलाई नेटिङ भनिन्छ । प्रचलित कानुनले निषेध नगरेको तर इन्साइडर ट्रेडिङ र कर्नरिङलाई मद्दत पुग्ने भएकोले सो सम्बन्धमा गहिरो अध्ययन हुनु जरुरी छ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई नेटिङ सुविधा कतिसम्म दिन हुने, कतिसम्म दिन नहुने भन्ने कोणबाट समेत छलफल सुरु भएको छ । नेटिङ कारोबारमा लगानीकर्ताको खातामा पैसा नभई पोर्टफोलियो परिवर्तन गर्न सक्छन् । त्यसैले यस्तो कारोबारमा ब्रोकर कम्पनीलाई कमिशन र सरकारलाई राजश्व आउने भएपनि शंकास्पद कारोबारहरु जानकारी पाउन कठिन हुने गर्दछ ।
नेपालको कानुनले निषेध वा दण्ड जरिवनाको व्यवस्था नगरेकोले ब्रोकर कम्पनीहरुबाट भएको अर्बौ रुपैयाँको नेटिङ सम्बन्धमा ठोस कारवाही गर्न सक्ने आधारहरु देखिदैन । यद्यपि समस्याको पहिचान गरी आगामी दिनमा नियमनको दायरामा ल्याउन सकेमा भने सोझा मध्यमबर्गीय लगानीकर्ता फसाउने माफियाहरुको डिजाईन असफल हुने थियो कि ?