अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

दीर्घरोगीलाई मासिक उपचार खर्च
३१ भाद्र २०७८, बिहीबार १७:०६

काठमाडौं । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ ।बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।

अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गर्नुभएको हो । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।
‘अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता पुनः अर्थमन्त्री जनार्दन शर्माज्यूले दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ हजार दिने बजेटमा व्यवस्था गरेकोमा पूर्ण दीर्घरोगीहरूको तर्फबाट एकमुस्ट बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकाना दिन चाहन्छौँ’, धन्यवाद पत्रमा भनिएको छ ।

धन्यवाद पत्र ग्रहण गर्नुहुँदै मन्त्री शर्माले सरकार मिर्गौला पीडितलगायतको साथमा सधैँ रहेको बताउनुभयो । सरकारले डायलासिस गरिरहेका मिर्गौला पीडितलाई मासिक पाँच हजार उपचार खर्च दिने व्यवस्था गरेको स्पष्ट पार्नुहुँदै मन्त्री शर्माले राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने आश्वासनदिएका छन् ।

‘हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ’, मन्त्री शर्माले भने , ‘प्रत्यारोपण (मिर्गौला) मात्र होइन, डायलासिस गरिरहेका सबैलाई सहयोग हुन्छ ।’
धन्यवाद पत्र ज्ञापन गर्ने क्रममा मिर्गौला पीडित सरोकार समाजले स्वास्थ्य बीमालाई १ लाखबाट २ लाख, दीर्घरोगीका सन्तानलाई विदेशमा उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध
गराउनेलगायतका मागसमेत राखेको थियो ।

अर्थमन्त्री शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुहुँदै क्यान्सर, मिर्गौला पीडित, स्पाइनल कर्ड इन्ज्यूरीलगायतका रोगको उपचार गराइरहेका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको बताएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*