कोरोना बीमाको दावी भुक्तानी तत्काल नपाउने निश्चित, अर्को महत्वपूर्ण निर्णय नभएसम्म पाइदैन रकम

२६ भाद्र २०७८, शनिबार ०७:४३

काठमाडौं । सरकारले हिजो संसदमा पेश गरेको संशोधित बजेटमा कोरोना बीमाले सिर्जना गरेको दायित्वको सम्बन्धमा प्रतिव्यक्ति ६०० (अनुदान ३०० र बीमा शुल्क ३०० समेत) रुपैयाँ तिरेर कोरोना बीमा गरेकाहरुले तत्काल एक लाख रुपैयाँ दावी भुक्तानी नपाउने भएका छन् ।

बीमा समितिले नेतृत्वमा बीमा पुलमार्फत नेपालमा सञ्चालित २० वटै कम्पनीहरुले १७ लाख भन्दा बढि जनतालाई पोलिसी बिक्री गरेको कोरोना बीमा पोलिसीमाथि एक लाख ४० हजार भन्दा बढि दावी परेको छ । सो मध्ये करिब ५० हजार जनाले कोरोना बीमाको दावी भुक्तानी पाएको भएपनि अझै ९० हजार भन्दा बढिले कोरोना बीमाको दावी भुक्तानी पाउन सकेका छैनन् ।

बीमा समितिले २०७७ साल साउनमा जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ बमोजिम भागबण्डा गरिएको दायित्व अन्तर्गत नेपाल सरकारको भागमा परेको साढे तीन अर्बभन्दा माथिको दायित्व भुक्तानी गर्न अस्वीकार गर्दै आएको छ । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि कोरोना बीमा मापदण्ड अनुसारको रकम भुक्तानी नगरेपछि उक्त दायित्व बीमा पोलिसी जारी गर्ने बीमा समिति र बीमा पोलिसी बिक्री गर्ने २० वटा निर्जिवन बीमा कम्पनीको काँधमा आइपरेको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमाथि दायित्व थपिएको छ । राष्ट्र सेवक कर्मचारी सेना प्रहरी ठूलो संख्यामा कोरोना भाइरसबाट संक्रमित भएपछि उनीहरुको मात्रै पाँच अर्ब हाराहारी भुक्तानी गर्न बाँकी छ ।

सरकारले भुक्तानी नदिएपछि बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी रोकेका छन् । अब कोरोना बीमाको दावी भुक्तानी सजिलै हुने सम्भावना समेत टरेको छ । सरकारले संशोधित बजेटमा नराखेपछि चालु आर्थिक वर्षमा बजेट निकासा नहुने अर्थमन्त्रालयका एक अधिकारीले बीमापोष्टलाई बताए । अर्थमन्त्रालय स्रोतले भन्यो, ‘संशोधित बजेटमा झण्डै तीन खर्ब विदेशी ऋण र साढे दुई खर्ब आन्तरिक उठाउनुपर्ने अवस्था छ, राष्ट्रिय गौरवका आयोजनाहरुलाई रकम दिन सकिरहेका छैनौं, नौ–नौ अर्ब रुपैयाँ कुनै उपलब्धी बिनाको काममा लगानी गर्न सम्भव छैन ।’ अर्थमन्त्रालय कोरोना बीमाको सम्बन्धमा लगभग स्पष्ट भएको स्रोतको दावी छ ।

सरकारले हात झिकेपछि कोरोना बीमाको दावी भुक्तानीको लागि बीमितहरुले बीमा कम्पनीहरुमा लगातार सम्पर्क गरेर कोरोना बीमा बापतको रकम माग गर्नुको औचित्य पनि लगभग सकिएको छ । सरकारको हातमा भएकोले सर्वसाधारणले कोरोना बीमाको लागि जति नै दवाव दिएपनि बीमा कम्पनीहरुले चाहेर पनि भुक्तानी गर्न सक्ने अवस्था छैन । कोरोना बीमाको रकम प्राप्त गर्न अर्को राजनीतिक तथा प्रशासनिक निर्णय कुनुपर्ने यथार्थ आम बीमितहरुले स्वीकार गर्नुपर्ने अवस्था अगाडि आएको छ ।

नेपाली बीमा इतिहासमा एउटा गलत अभ्यासको रुपमा स्थापित भएको कोरोना बीमा तत्कालिन बीमा समितिको नेतृत्व र केही बीमा कम्पनीका अगुवाहरुले उत्साहित हुँदै अघि बढाए पनि अन्ततः असफल भएको छ । आगामी दिनमा बीमा समिति र बीमा कम्पनीहरुले बीमाको सिद्धान्तभन्दा बाहिर गएर, मौका छोप्दै अनैतिक तरिका बीमा व्यवसायमा हात हाल्नुअघि सचेत हुन पाठ समेत सिकाएको छ ।

One thought on “कोरोना बीमाको दावी भुक्तानी तत्काल नपाउने निश्चित, अर्को महत्वपूर्ण निर्णय नभएसम्म पाइदैन रकम

  1. प्रविण सुबेदी says:

    कोरोना वीमा दावी भुक्तानी हुनै पर्दछ। यो वीमा गराउनु गलत थियो भन्ने लाग्छ भने सुरुवात गर्ने वीमा का मैहु भन्ने तथा कथित विज्ञ भनौदा हरुलाई तुरुन्त कारवाही गर्न पर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*