बीमा दावी भुक्तानी विकेन्द्रीत गर्न धनगढीका स्थानीयको माग, सानो रकम भुक्तानी लिन काठमाडौं धाउनु परेको गुनासो

२५ भाद्र २०७८, शुक्रबार १६:२९

धनगढी । बीमा समितिले धनगढी उपमहानगरपालिकामा आयोजना गरेको बीमा सचेतना सम्बन्धी कार्यक्रममा सहभागी स्थानीय सभागीहरुले बीमा दावी भुक्तानी विकेन्द्रीकरण गर्न बीमा समिति र बीमा कम्पनीहरुलाई सुझाव दिएका छन् ।

धनगढीमा आज बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको सभापतित्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सानो सानो दावी भुक्तानीको लागि समेत काठमाडौं धाउनु परेको गुनासो गर्दै कम्तीमा संघीय संरचना अनुसार दावी भुक्तानीको लागि अधिकार विकेन्द्रीकृत गर्न सुझाव दिएका हुन् ।

धनगढी उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओडको प्रमुख आतिथ्य, नेपाल बीमक संघका सचिव चंकी क्षेत्री, जीवन बीमक संघका नारायण भट्टराईको आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमा समस्या तथा अप्ठेरोहरुका बारेमा खुलेर छलफल भएको थियो ।

कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने प्रक्रिया, बीमा दावी भुक्तानी नपाउँँदा गरिने उजुरीका सम्बन्धमा छलफल भएको थियो । छलफलमा धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मेयर भट्टले बीमा जनचेतनाको लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । कार्यक्रममा मेयर ओडले बीमाको जनचेतनामार्फत आम जनताको जीवन सहज हुने हुँदा सबैले बीमा गरेर सुरक्षित हुनुपर्ने धारणा राखे ।

कार्यक्रमका सभापति तथा बीमा समितिका कार्यकारी निर्देशक पौडेलले कृषि तथा बाली बीमामा जोड दिँदै स्थानीय किसानहरुलाई बीमा गरेर आफ्नो पशु तथा बालीको संरक्षण गर्न आह्वान गरेका छन् । कार्यकारी निर्देशक पौडेलले कतिपय बीमा कम्पनीहरुले निश्चित सीमासम्मको दावी भुक्तानी विकेन्द्रीकरण गरेर काठमाडौंभन्दा बाहिरबाटै दिने व्यवस्था गरेको र विस्तारै दावी भुक्तानी थप सहज बनाईने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बीमा समितिका उप निर्देशक विरोध भट्टले बीमा दावी भुक्तानी सम्बन्धी कुनै पनि गुनासोहरु भौतिक रुपमा उपस्थित नभई इमेल, टेलिफोन, चिठ्ठीमार्फत समेत बीमा समितिमा गर्न सकिने प्रष्ट पार्दै बीमा दावी भुक्तानी सरल र सहज बनाउन बीमा समिति प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले कोरोना बीमाको दावी भुक्तानीको लागि अर्थमन्त्रालयसँग पहल भइरहेको बताउँदै बीमा कम्पनीहरुको आफ्नो दायित्व पूरा गरिसकेकोले सरकारी प्रतिबद्धता अनुसारको रकम अर्थमन्त्रालयबाट नआउदा रोकिएको प्रष्ट पारेका छन् । सचिव क्षेत्रीले कोरोना बीमाको दावी भुक्तानी छिट्टै समस्या हल हुने बताए ।

एक सय भन्दा बढि स्थानीयबासीको उपस्थितिमा सम्पन्न कार्यक्रममा वडा अध्यक्षलगायतका जन प्रतिनिधिहरु, स्थानीय किसान, कृषि समुहका अध्यक्षहरु, सहकारी संस्थाका प्रतिनिधि, जिल्लास्थित सबै बीमा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले बीमाबारेमा थप ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् । धनगढी उपमहानरपालिकाका स्थानीयबासी मनसरा भट्टले थोरै बीमा शुल्क तिरेर ठूला सम्पत्ति, पशु तथा कृषिको जोखिम बहन बीमा कम्पनीले गर्ने जानकारी पाएको बताईन् । उनले बीमा सम्बन्धी जनचेतना कार्यक्रममा समय समय भइरहनु पर्ने समेत सुझाव दिईन् ।

One thought on “बीमा दावी भुक्तानी विकेन्द्रीत गर्न धनगढीका स्थानीयको माग, सानो रकम भुक्तानी लिन काठमाडौं धाउनु परेको गुनासो

  1. Ram karki says:

    नेपाल मा इन्स्योरेन्स गर्ने मात्रै हो दाबी भुक्तानी गर्दैनन् बीमा कम्पनीले मिलोमतो गर्न सकेमात्रै दाबी भुक्तानी गर्छ !!नत्र बर्सौ सम्मा पनि दिदैन,सावधान रहनु होला

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*