आईपिओ निष्काशनका लागि एलआईसी इण्डियालाई भारत सरकारको अनुमति, १० खर्ब भारुको १० अर्ब कित्ता आईपिओ निष्काशन गर्ने तयारी

२३ भाद्र २०७८, बुधबार १४:१०

काठमाडौं । भारतीय जीवन बीमा निगमले (एलआईसी) इण्डियाले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन अनुमति पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको क्याविनेटले गत १९ अगष्टमा मन्त्रिपरिषदले भारततीय इतिहासको सबैभन्दा ठूलो आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार कूल सम्पत्तिको पाँच प्रतिशतले हुन आउने एक लाख करोड भारतीय रुपैयाँको आईपिओ जारी हुने चर्चा गरिएको छ । एलआईसी इण्डियाको आईपिओको कूल मूल्य २६१ बिलियन अमेरिकी डलर अनुमान गरिएको छ ।

हालैमात्र भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीलाई आईपीओ जारी गर्न केन्द्रीय मन्त्रिपरिषद्ले अनुमति दिएको टाईम्स अफ इण्डियाले जनाएको छ । उक्त बैठकले कम्पनीको एक लाख करोड कित्ता आईपीओ ल्याउने भएपनि एकिन संख्या भने हुन बाँकी छ ।

आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाए पनि अब केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको कमिटीले कम्पनीको आईपीओको आकार र मूल्यको बारेमा थप निर्णय लिने समाचार भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । साथै उक्त कमिटीले आईपीओ जारी गर्ने मिति पनि तय गर्ने छ । भारत सरकारको उक्त कम्पनीमा शतप्रतिशत लगानी रहेको छ ।

यो आईपीओ भारतीय कर्पोरेट इतिहासको सबैभन्दा ठूलो आईपीओ हुने पनि बताइएको छ । समाचार एजेन्सी पीटीआईले एकअधिकारीलाई उध्रित गर्दै बताएअनुसार कम्पनीको आईपीओको प्रत्याभुतिकर्तामा गोल्डम्यान श्याख्स, जेपी मोर्गन, आईसीआई सिक्योरिटीज, कोटक महिन्द्रा क्यापिटल, जेएम फाइनान्सियल, सिटी ग्रुप, नोमुरा होल्डिंग्ससमेत १० ओटा बैंकर्सलाई छनौट गरिएको छ ।

तर कतिपयले उक्त कम्पनीको आईपीओ सन् २०२२ को अन्त्यसम्ममा आउन सक्ने बताएका छन् । आईपीओको आकारको अधिकतम १० प्रतिशत पोलिसी होल्डर्सको लागि पनि सुरक्षित राखिने बताइएको छ । कम्पनीले दुई पटक गरेर आईपीओ जारी गर्ने योजना बनाइरहेको छ । सो कम्पनीमा २८९ मिलियन बीमितले पोलिसी खरिद गरेका छन् । कम्पनीले जारी गर्न लागेको उक्त आईपीओबाट खासगरी पोलिसी होल्डर्सले निक्कै लाभ उठाउन सक्ने बताइएको छ ।

सरकारले प्रस्तावित आईपीओको लागि आवश्यक पर्ने कानूनहरु पनि संशोधन गरिसकेको छ । भारतीय जीवन बीमा व्यवसायको ६६ प्रतिशत बजार हिस्सा ओगटेको एलआईसी इण्डियाको आईपिओ जारी हुँदा भारतीय बैंहरुमा ठूलो मात्रामा आर्थिक गतिविधि हुने भएकोले आवश्यक तयारी गर्न सुझाव दिइएको छ ।

एलआईसी इण्डियाको नेपाल सहितका थुप्रै देशमा लगानी रहेको छ । नेपालमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नामबाट बीमा सम्वन्धी कारोबार गरिरहेको छ । भारतीय जीवन बीमा निगम (एलआईसी) को लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडमा ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

उक्त आईपिओ विदेशी लगानीका कम्पनीहरुलाई अधिकतम् २० प्रतिशत मात्रै पाउने गरी क्याप लगाउने तयारी भइरहेको समेत समाचारमा जनाइएको छ । यद्यपि एलआईसी इण्डियाको आईपिओ सम्बन्धी अझै थुप्रै निर्णयहरु गर्न बाँकी रहेको र भर्खरै मात्रै प्रक्रिया अघि बढेकोले आईपिओ जारी हुँदासम्म धेरै प्रक्रिया पार गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*