शेयरधितोमा ऋण लिन झनै कडा बनाइयो, एउटै परिवारभित्रकाले चार करोडभन्दा बढि ऋण नपाउने

१५ भाद्र २०७८, मंगलवार १३:१८

काठमाडौं । सेयर धितो कर्जामा एउटा परिवारभित्रका सबैंलाई एकल कर्जा सीमा लागू हुने भएको छ । सेयर धितोमा कर्जा प्रवाह गर्दा एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड रुपैया र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैया राष्ट्र बैंकले कायम गरेको थियो ।

यस्तो व्यवस्था लागू भएपछि एउटा बैंकका एकाघरमा परिवारका सदस्य समेतको नाममा जम्मा चार करोड मात्रै ऋण पाइनेछ । साथै विभिन्न अन्य बैंकहरुमार्फत ऋण लिन चाहेमा अधिकतम् १२ करोड भन्दा बढि ऋण लिन पाइने छैन । नयाँ व्यवस्था लागू भएपछि एकाघरका परिवारका सदस्यहरु समेत सीमाभित्र बाधिन पुगेका छन् ।

बैंकको एकीकृत निर्देशनका अनुसारका एकल ग्राहक सम्बन्धी ब्यवस्थाले आपसी सम्बन्ध भएका ग्राहकहरुलाई एउटै समूह मानिने उल्लेख गरेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कुनै ब्यक्ति, कम्पनीको सञ्चालक, प्राइभेट लिमिटेडका सेयरधनी, साझेदारी फर्मका साझेदार, फर्मका प्रोप्राइटर तथा त्यस्ता ब्यक्ति, सञ्चालक, सेयरधनी, साझेदारी वा प्रोप्राइटर एकाघरमा बसोबास गरी आएका वा छुट्टै भिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाब, आमा, सौतेनी आमा र आफुले पालनपोषण गर्नुपर्ने दाजु, भाइ तथा दिदि, बहिनीलाई समेत एउटै समूह मानेर ऋण प्रवाह गर्नुपर्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ । एकीकृत निर्देशनले एउटा ग्राहक वा कम्पनीले अर्को ग्राहक वा कम्पनीलाई जमानत दिएकाहरुको पनि एउटै समूहमा राखेर ऋण प्रवाह गर्नुपर्ने जनाएको छ ।

एकल ग्राहक कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएमा कर्जालाई क्रमिक घटाउदै कर्जाको भुक्तानी अवधि वा आगामी एक बर्ष मध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्न निर्देशन राष्ट्र बैंकले सबै बैंकहरुलाई निर्देशन दिएको छ ।

२०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा एक खर्ब ६ अर्ब रुपैया कर्जा प्रवाह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*