विद्युत बिक्री आम्दानी बढ्दा जोशी हाइड्रोपावरले खुद नोक्सानी घटायो, इपिएस कति ?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनी खुद नोक्सानीमा रहेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा कम्पनीले ३५ लाख ७१ हजार भन्दा बढी खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १ करोड ८४ लाख ५६ हजार रुपैयाँ भन्दा बढी खुद नोक्सानी बेहोरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले खुद नोक्सानी केही प्रतिशतले घटाएको हो ।
समिक्षा अवधिसम्ममा कम्पनीले विद्युत बिक्री आम्दानी भने बढाएको छ । अघिल्लो आवमा १ करोड ६४ लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत आवमा ३ करोड ६३ लाख भन्दा बढी आम्दानी गरेको छ ।
त्यस्तै, कम्पनीको संचालन मुनाफा समेत बढेको छ । अघिल्लो आवमा ७१ लाख ४७ हजार रुपैयाँ मात्र संचालन नाफा गरेको कम्पनीले गत आवमा ३ करोड ८ लाखभन्दा बढी संचालन नाफा आर्जन गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी र संचालन मुनाफा बढ्दा अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले खुद नोक्सानी घटाएको हो ।
कम्पनीको हाल चुक्तापूँजी ३७ करोड १४ लाख रहेको छ । त्यस्तै, जगेडा कोष ५ करोड ७३ लाख भन्दा बढी ऋणाात्मक रहेको छ । कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ०.९५ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ५७ पैसा रहेको छ ।