नेपाल लाइफले किन्यो नेशनल मर्चेन्ट बैंकर, लगानी विविधिकरण गर्दै अघि बढ्ने लक्ष्य

१२ भाद्र २०७८, शनिबार १८:१२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट मध्येभित्र पर्ने नेशनल मर्चेन्ट बैंकर कम्पनीको बहुमत शेयर खरिद गरेको छ । कम्पनीले नेपालकै दोस्रो नम्वरमा रहेको मर्चेन्ट कम्पनी नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको हो । नेशनल मर्चेन्ट बैंकर उत्कृष्ट मध्येको कम्पनी हो । अनौपचारिक तथ्याङ्क अनुसार नबिल इन्भेष्टमेन्ट पछि नेशनल मर्चेन्ट बैंकर राम्रो मानिन्छ ।

शुक्रबार दुई कम्पनीका बीचमा सम्झौता भएको नेपाल लाइफले जनाएको छ । नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले लगानी विविधिकरण गर्न नयाँ कम्पनीको शेयर स्वामित्व खरिद गरेर सञ्चालन गर्न लागेको हो । नेपाल लाइफ नेपालकै सबैभन्दा ठूलो बीमा कोष भएको कम्पनी हो । सवा खर्ब भन्दा ठूलो कोष परिचालन गर्न कम्पनीले लगानी विविधिकरण गर्ने लक्ष्य लिएको छ । ३ डिजिटको बोनसदर पुर्याउने लक्ष्यका साथ काम गरिरहेको नेपाल लाइफले सो कम्पनीको शेयर स्वामित्व खरिद गरेपछि नेशनल मर्चेन्ट बैंकर थप आक्रामक रुपमा बजारिकरणमा जाने विश्वास लिइएको छ ।

शुक्रबार एक कार्यक्रमका बीचमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लि. को ५१% संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको हो । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी ३० करोड हुने कम्पनीले जनाएको छ ।

दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थितमा भएको हस्ताक्षरपछि नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*