लगानीकर्ता झुक्याउँदै खानीखोला हाईड्रोपावर कम्पनी, वित्तीय विवरणमा सार्वजनिक भएको मुनाफा नै झुठो !
काठमाडौं । खानीखोला हाईड्रोपावर कम्पनीले सर्वसाधारण शेयर लगानीकर्ता झुक्याउने गरी वित्तीय विवरण सार्वजनिक गरेपछि शेयर बजारमा लगातार सर्किट लागेर मूल्य बढिरहेको छ । तर, उक्त कम्पनीको वित्तीय विवरणमा उल्लेख भएको मुनाफा नै झूठो भएको फेला परेको छ ।
खानीखोला हाईड्रोपावर कम्पनीले गत आवको चौथो त्रैमासिक रिपोर्टमा एक्कासी ठूलो नाफा भएको रिपोर्ट सार्वजनिक गरेपछि लगातार तेस्रो दिन पनि सर्किट लागेर शेयर मूल्य बढिरहेको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई बिक्री नै गर्न नपाएको विद्युतलाई बिक्री शिर्षकमा ५१ करोड दुई लाख ७१ हजार ५६४ रुपैयाँ आम्दानी देखाइएको पाइएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत खरिदका लागि प्रशारण लाइनमा जोडिनु पर्नेमा प्रशारण लाइन नै बनाउन नसकेर अल्झिएको कम्पनी लगातार केही वर्षदेखि घाटामा थियो । गत जेठमा प्रकाशित गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा कम्पनी नौ करोड ९० लाख ५१ हजार १६४ रुपैयाँ घाटामा थियो ।
कम्पनीको वित्तीय विवरण अनुसार विद्युत विक्री बापत देखाइएको ५१ करोड रुपैयाँ मध्ये ४१ करोड तीन लाख ७१ हजार ७४ रुपैयाँ वास्तविक बिक्री अर्थात बिल बिजक जारी गरेर आम्दानी भएको होइन । कम्पनीको वास्तविक नाफा नोक्सान हिसाबमा १७ करोड ७८ लाख पाँच हजार ५४ रुपैयाँ घाटा हुनुपर्नेमा उल्टै ३३ करोड १६ लाख २३ हजार १८४ रुपैयाँ मुनाफा देखाइएको छ । नेपाल विद्युत प्राधिकरणको नाममा बिल बिजक जारी नभएको, विद्युत प्राधिकरणले समेत सो कम्पनीको नाममा भुक्तानी बक्यौता नदेखाएको अवस्थामा बिक्रीको नाममा ५१ करोड रुपैयाँ वित्तीय विवरणमा राखेर १७ करोड ७८ लाख रुपैयाँ घाटामा गएको कम्पनीले मुनाफा भएको भन्दै सर्वसाधारणलाई झुक्याउने कार्य गरी कम्पनीका लेखा प्रमुख, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतले शेयर बजारमा चलखेल गर्ने प्रयास गरेको देखिएको छ ।
दुई महिना अघि सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरणमा कम्पनीमा घाटामा हुँदा प्रतिशेयर आम्दानी समेत ऋणात्मक बनेर माइनस २१.२७ थियो । गत आर्थिक वर्षमा माइनस ३२ रुपैयाँ रहेको प्रतिशेयर गत असार सम्मको वित्तीय विवरणमा ह्वात्तै बढेपछि लगानीकर्ताहरु झुक्किएर भटाभट उक्त शेयर किन्न पुगेको देखिएको छ ।
हेरौं तेस्रो तैमासिक वित्तीय विवरण
वित्तिय विवरण सार्वजनिक हुनु अगाडि ३८० रूपियाँमा कारोबार भइरहेको यो कम्पनीको शेयर हिजो तेस्रो दिनसम्म सर्किट हानेर मंगलबार प्रति कित्ता ५ सय ५ रूपियाँमा बजार बन्द भएको नेप्सेको तथ्याङ्क छ । कम्पनीले वित्तिय विवरणमा प्रतिसेयर आम्दानी ७१.२१ रूपैयाँ देखाएको छ । वास्तविक तथ्याङ्कको आधारमा गणना गर्ने हो भने प्रतिशेयर आम्दानी –३६ रुपैयाँ भन्दा बढि हुन्छ ।
गत असार मसान्तसम्म पनि नेपाल विद्युत प्राधिकरणले ट्रान्समिसन लाइन नबनाएका कारणले गर्दा खेर गएको बिजुली बिक्री गरेबापत पाउनुपर्ने ४१ करोड ३ लाख रूपैयाँ बढी विद्युत प्राधिकरणसँग दाबी गरी पत्राचार समेत गरेको भन्ने नोट राखेर वित्तीय विवरणमा समावेश गरिएको पाइएको छ ।
कृत्तिम, झूठा मुनाफा वित्तीय विवरणमा समावेश गरी लगानीकर्ता प्रभावित पार्ने कार्यमा संलग्नमाथि कारवाही गर्ने सन्दर्भमा नेप्से तथा धितोपत्र बोर्ड समेत दुई दिनदेखि मौन रहनु अर्को आश्चर्यको विषय बन्न पुगेको छ ।
खानीखोला हाईड्रोपावर नेपालको जलविद्युत क्षेत्रकै पीडित कम्पनी मध्ये एक हो । सरकारले समयमा प्रशारण लाइन नबनाउँदा उक्त कम्पनीको बार्षिक करोडौं रुपैयाँको बिजुली खेर गइरहेको छ । देशले भारतबाट विद्युत आयात गर्ने अनि नेपालमा उत्पादित विद्युत प्रशारण लाइनको अभावमा उपयोग नहुने दुर्भाग्यपूर्ण अवस्थाको सिकार बनेको उक्त कम्पनीले नेपाल विद्युत प्राधिकरणका विरुद्धमा कानुनी उपचार खोज्न भने सक्नेछ । सोही कारण विगतमा सरकारबाट केही करोड अनुदान समेत पाएको सो कम्पनीले वित्तीय विवरणमा भने त्यस्तो गलत विवरण समावेश गरेर सर्वसाधारण लगानीकर्तालाई झुक्याउने गलत कार्यको साहारा लिन पुग्दा कम्पनी थप समस्यामा पर्ने देखिएको छ ।