एक अर्ब चुक्ता पुँजिको प्रिमियर इन्स्योेरेन्सले कमायो ३७ करोड मुनाफा
काठमाडौं । औसत मात्रामा बीमा व्यवसाय गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीले ३७ करोड ३७ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब दुई करोड रुपैयाँ मुनाफा बृद्धि गर्न सफल भएको हो ।
अघिल्लो आवमा कम्पनीले जम्मा ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको लगानी, कर्जा तथा अन्य आयमा केही घटेपनि पुनर्बीमा कमिशन आयमा भएको बृद्धि तथा जोखिम सम्बन्धी व्यवस्थाको कारण कम्पनीको मुनाफा बढेको हो ।
कम्पनीले समीक्षा अवधीमा ७६ करोड २४ लाख ९७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । अघिल्लो आवमा ६९ करोड ५६लाख ९३ हजार रुपैयाँ खुद बीमा दावी भुक्तानी गरेको थियो । कम्पनीको खूद बीमा दावी भुक्तानी रकम सामान्य अंकले मात्रै बढेको छ । अघिल्लो आवमा जम्मा ४२ करोड ५९ लाख रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले गत आवमा ४३ करोड ६६ लाख दावी भुक्तानी गरेको छ ।
कम्पनीको व्यवस्थापन खर्च लगभग स्थिर जस्तै देखिएको छ । गत आवको अघिल्लो समीक्षा अवधीमा २५ करोड ७३ लाख रुपैयाँ खर्च गरेको कम्पनीले गत आवमा २६ करोड चार लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी दुई अर्ब ५८ करोड ४३ लाख ८९ हजार रुपैयाँ छ । छ हजार ४७८ वटा दावी भुक्तानी बक्यौता रहेको कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरणमा झल्किएको छ ।
समीक्षा अवधीमा कम्पनीले कूल एक अर्ब ९१ करोड सात लाख ७५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो अवधीमा कम्पनीले एक लाख ५२ हजार बीमालेख जारी गरेको छ ।
गत आर्थिक वर्षको तथ्याङ्क अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ३४.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.६४, प्रतिशेयर नेटवर्थ २२१.५२ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३४४.८३ रुपैयाँ रहेको छ ।