तेह्रथुम पावरको ८ लाख कित्ता आइपीओ भदौ ९ गतेदेखि निष्काशन
काठमाडौं । विभिन्न कम्पनीहरुले एक पछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा तेह्रथुम पावरले पनि आइपीओ निष्काशन मिति तय गरेको छ । कम्पनीले भदौ ९ गतेदेखि ८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । कुल ८ लाख कित्ता मध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको उक्त आइपीओमा छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।