१० अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो गुराँस लाइफ, खुद बीमा शुल्क ६५% बढ्दा अधिकांश सूचांकमा प्रगति

३२ श्रावण २०७८, सोमबार ०६:५९

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले जीवन बीमा क्षेत्रमा बोनस दर तथा कम्पनीको बलियोपना मापनका लागि महत्वपूर्ण मानिने जीवन बीमा कोषलाई ३८.३० प्रतिशतले बृद्धि गर्दै १० अर्ब ५९ करोड ३९ लाख २१ हजार रुपैयाँको जीवन बीमा कोष बनाउन सफल भएको छ । कम्पनीले जगेडा कोषमा ५३ करोड ८४ लाख ८८ हजार र महाविपत्ति कोषमा पाँच करोड ७५ लाख ४४ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बृद्धि भएको छ । गत आवको अघिल्लो समीक्षा अवधीमा दुई अर्ब २० करोड १७ लाख तीन हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले गत असार मसान्तसम्ममा तीन अर्ब ६३ करोड ६८ लाख ४० हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, कम्पनीले समीक्षा अवधीमा कूल दावी भुक्तानी २९.११ प्रतिशतले मात्रै बृद्धि भएको छ ।

कम्पनीले अघिल्लो आवमा ५१ करोड दावी भुक्तानी गरेकोमा गत आवमा ६६ करोड २७ लाख ४५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।
कम्पनीको आम्दानी बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । कम्पनीले कूल ९९ करोड ७२ लाख नौ हजार रुपैयाँ लगानी, कर्जा तथा अन्यबाट आम्दानी गर्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च ६०.२० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा ३१ करोड रुपैयाँ खर्च गरेको कम्पनीले गत आवमा ५० करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ।

कम्पनीले अभिकर्तालाई कमिशनबापत ५३ करोड ४२ लाख ७३ हजार रुपैयाँ वितरण गरेको छ । अघिल्लो आवमा जम्मा २५ करोड रुपैयाँ वितरण गरेकोमा यस वर्ष दोब्बर बृद्धि भएको हो ।

कम्पनीको खुद नाफा २७.७७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा नौ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा १२ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको बीमा पोलिसीसंख्या भने घटेको छ । अघिल्लो आवमा एक लाख ६५ हजार २१९ वटा पोलिसी कायम रहेकोमा गत असार मसान्तसम्ममा एक लाख ५४ हजार ९१७ वटा पोलिसी कायम रहेको छ ।

कम्पनीको बक्यौता दावी भुक्तानी ३० लाख ७१ हजार रुपैयाँ छ । कम्पनीले गत आवमा नौ हजार २५९ वटा दावी भुक्तानी गरेको छ ।
समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ६.१४ रुपैयाँ रहेको छ भने प्रतिेशयर नेटवर्थ १३०.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२३.५४, प्रतिशेयर कूल् सम्पत्तिको मूल्य ७२१.३६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*