सिभिल बैंकको खराब कर्जा घट्दा खुद नाफामा सामान्य सुधार
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सिभिल बैंकले ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले गत आवको चौथो त्रैमाससम्मको सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५० लाख खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तु्लनामा गत वर्षको असार मसान्तसम्ममा ४३ लाखले मात्र खुद नाफा बढाउन सफल भएको हो ।
समिक्षा अवधिमा बैंकको संचालन मुनाफा समेत सामान्य घट्न पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ९० करोड ८८ लाख रहेको संचालन मुनाफा गत आवको सोही अवधिसम्म सामान्य घटेर ९० करोड १९ लाख कायम भएको छ ।
त्यस्तै अघिल्लो वर्ष २ अर्ब २३ करोड खुद ब्याज आम्दानी समेत घटेर २ अर्ब २१ करोडमा सिमित भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २.३८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर समीक्षा वर्षसम्म १.०५ प्रतिशतमा सीमित बन्न पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ८८ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी ७९ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । बैंकले निक्षेप र कर्जातर्फ भने क्रमशः ५४.११ र ५१.४४ प्रतिशतको प्रगति गरेको देखिएको छ ।
बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ६४ करोड रहेकोमा वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख रुपैयाँ मात्र रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ५.७१ रुपैयाँबाट बढे र ६.४७ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२३.६७ रुपैयाँ रहेको छ ।