नयाँ जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बृद्धिदर उच्च, कसको बृद्धिदर कति ? (तथ्याङ्क सहित)
काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा पुराना बीमा कम्पनीहरुभन्दा नयाँ बीमा कम्पनीको बीमा व्यवसायमा उच्च सुधार देखिएको छ । पुरानो जीवन बीमा कम्पनीहरुको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारमा आक्रामक र बृद्धिदर उच्च देखिएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा नयाँ कम्पनीहरु नै अगाडि देखिएका तथ्याङ्कले सपष्ट देखाएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा सबैभन्दा धेरै प्रतिशतले बीमा व्यवसाय गर्न सफल भएको छ ।
जीवन बीमा कम्पनीहरुको समग्र अवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कुल बीमाशुल्क २८.१५ प्रतिशतले वृद्धि भएको छ । १० नयाँ जीवन बीमा कम्पनीको वृद्धिदर जीवन बीमा कम्पनीहरुको व्यवसायको वृद्धिदरको औषतभन्दा बढी छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको व्यवसायको वृद्धिदर औषत भन्दा कम छ ।
गत आर्थिक वर्षमा सानिमा लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क बढाएको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको तुलनामा १३७ दशमलव ८० प्रतिशतले बीमाशुल्क वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ८२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।
दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत त्रैमासको अवधिमा शत प्रतिशतले बीमा शुल्क बढाएको छ । गत आवमा कम्पनीले दुई अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । अघिल्लो आवमा कम्पनीले एक अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
त्यस्तै, आइएमई लाइफले ९९ दशमलव २९ प्रतिशत, रिलायवल नेपाल लाइफले ८६ दशमलव ८८ प्रतिशत, रिलायन्स लाइफले ८३ दशमलव ५७ प्रतिशत, सिटिजन लाइफले ८३ दशमलव १६ प्रतिशत, गुराँस लाइफले ६८ दशमलव ४ प्रतिशत, ज्योति लाइफले ६४ दशमलव ०२ प्रतिशत, युनियन लाइफले ४१ दशमलव ०४ प्रतिशत, सूर्या लाइफले ३३ दशमलव १३ प्रतिशतले कुल बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएको छ।
त्यसैगरी, तथ्याङ्क अनुसार नेशनल लाइफले ३२ दशमलव ३ प्रतिशत, एशियन लाइफले ३० दशमलव ४० प्रतिशत, प्रभु लाइफले २२ दशमलव ८८ प्रतिशत, महालक्ष्मी लाइफले २१ दशमलव ८४ प्रतिशत, प्राइम लाइफले २१ दशमलव ७५ प्रतिशत, मेट लाइफले २० दशमलव ९६ प्रतिशत, नेपाल लाइफले १५ दशमलव ६७ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ११ दशमलव ९५ प्रतिशत र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ५ दशमलव ११ प्रतिशतले बीमाशुल्क आर्न वृद्धि गर्न सफल भएका छन् ।