हिमालयन डिस्टिलरीको १२२ प्रतिशतले खुद नाफा बृद्धि, ईपीएस कति ?
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य बृद्धि देखिएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२२.९० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको उत्पादन बिक्री रकम पनि ३६.५ प्रतिशतले बढेर ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो उत्पादन आम्दानी ४ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षमा कम्पनीको वित्तीय खर्च र प्रशासनिक खर्च घटेको छ । समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो ३ करोड २ लाख रुपैयाँ रहेको थियो । त्यस्तै प्रशासनिक खर्च पनि अघिल्लो आवको सोही अवधिमा १४ करोड ६८ लाखबाट घटेर ११ करोड २२ लाख रुपैयाँमा झरेको छ । कम्पनीको वित्तीय खर्च प्रशासनिक खर्च घट्दा खुद नाफा बढ्न पुगेको हो ।
कम्पनीको हाल चुक्तापुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेकोमो वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ८०.७२ रुपैयाँले बढेर ११९.९४ रुपैयाँ पुगेको छ । त्यस्तै पीई रेसियो ४५.९६ गुणा रहेको कम्पनीको प्रतिशेयर वार्षिक नेटवर्थ २३०.९५ रुपैयाँ रहेको छ ।