ओली सरकारले ल्याएको अध्यादेश बजेट संशोधन गर्ने अर्थमन्त्री शर्माको घोषणा

२८ श्रावण २०७८, बिहीबार १४:२२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै संकुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताएका छन् । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रहेको त्रुटीहरु सरकारले छिट्टै संसदमा पेश गर्ने प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने घोषणा गरेका छन् ।

विहीवार राष्ट्रिय सभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अध्यादेश बजेटमा प्रदेश र स्थानीय तहको अधिकार संकुचित हुने खालका कार्यक्रम भेटिए सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् ।

अर्थमन्त्री शर्माले आफूले प्रतिस्थापन विधेयक मार्फत् ल्याउने बजेटमा केही परिमार्जन हुने जानकारी दिएका छन् । पूर्ववर्ती सरकारले स्रोत सुनिश्चितता नभएका कतिपय योजनामा समेत बजेट छुट्याएकाले त्यस्ता त्रुटीहरु सच्याइने अर्थमन्त्री शर्माले संसदलाई जानकारी गराएका छन् । साथै अर्थमन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजना र क्रमागत योजनालाई भने विगतकै सरकारले छुट्टयाएको बजेटलाई निरन्तरता दिइने प्रष्ट पारेका छन् ।

राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री शर्माले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताएका छन् । यस क्षेत्रमा स्वदेशी लगानीलाई प्रोत्साहन गरिने भन्दै उहाँले साना किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*