कुमारी बैंकको मुनाफा दुई अर्बमाथि, १०९ करोड रुपैयाँ मुनाफा वितरण गर्न पाउने
काठमाडौं । कुमारी बैंकको मुनाफा ७२ प्रतिशतले बृद्धि भई दुई अर्ब नाघेको छ । बैंकले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशन गर्दै गत आवमा आर्जित मुनाफाबाट एक अर्ब नौ करोड रुपैयाँ मुनाफा वितरण गर्न सक्षम देखिएको छ ।
आज प्रकाशित भएको कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले जम्मा एक अर्ब १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको मुनाफा ७२.७४ प्रतिशत बढेको छ ।
बैंकको वितरणयोग्य मुनाफा एक अर्ब नौ करोड ४२ लाख ६ हजार रुपैयाँ छ । गत आवमा यस्तो रकम जम्मा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो । वितरणयोग्य मुनाफा बृद्धि भएसँगै लगानीकर्ताहरुले पाउने लाभाश बृद्धि हुने देखिएको छ । कूल १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजि भएको बैंकले गत आवको मुनाफाबाट दोहोरो अंकमा लाभांश वितरण गर्न मुश्किल भएपनि गत आवको तुलनामा बृद्धि हुने देखिएको छ ।
कुमारी बैंकको मुनाफा बृद्धिको स्रोत खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५६.९८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६९.१६ प्रतिशत बढेको छ ।
समीक्षा अवधीमा बैंकले एक खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ सर्वसाधारणबाट निक्षेप संकलन गरेको छ भने एक खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेर १४ रुपैयाँ ४२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ । बैंकको बेसरेट ७.९ प्रतिशत रहेको छ भने निक्षेप कर्जा अनुपात ८१.०१ प्रतिशत रहेको छ । त्यस्तै खराव कर्जा १.०८ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा घटेर सकारात्मक बन्न पुगेको छ ।