एक वर्षमा नेप्से सूचकाङ्क दुई गुणा भन्दा बढीले वृद्धि
काठमाडाौं । आर्थिक बर्ष २०७६ असार मसान्तमा १२५९.० विन्दुमा पुगेको नेप्से परिसूचक आ.व. २०७७ असार मसान्तमा १३६२.४ विन्दु कायम रहेको थियो । आ.व. २०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ विन्दु कायम भएको छ । यसरी पछिल्लो एक वर्षमा नेप्से सूचकाङ्क दुई गुणा भन्दा बढीले वृद्धि भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलवार देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । पुँजी बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश एवम् वित्तीय स्रोतको सहज उपलब्धता लगायतका कारण नेप्से सूचकाङ्कमा तीब्र वृद्धि भएको सरकारले बताएको छ । वि.स. २०७७ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेकोमा वि.स.२०७८ जेठ मसान्तमा उक्त अनुपात ९८.८ प्रतिशत कायम भएको छ ।
यस्तै पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेको छ भने उत्पादन क्षेत्रका कम्पनीहरुको उपस्थिति न्यून रहेको छ । पुँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पुँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो रहेको बताइएको छ ।
लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई, पुँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही वनाउनुपर्ने भएको छ । पुँजी बजारमा स्वचालित प्रणाली प्रवर्द्धन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने आवश्यकता रहेको उल्लेख छ ।