मैलुङ खोलाको आइपीओ नतिजा ४ बजेभित्र सार्वजनिक गर्ने सिडिएसको तयारी
काठमाडौं । मैलुङ खोलाको बाँडफाँड आज सम्पन्न भईसकेको छ । आज ४ बजेभित्र मैलुङ खोलाको रिजल्ट सर्वसाधारणले हेर्न पाउने सिडिएस एण्ड क्लियरिङले बीमा पोष्टलाई जानकारी दिएको छ । बिहान ९ बजे नै बाँडफाँड गरिएको आइीपीओको नतिजा सार्वजनिक नहुँदा सर्वसाधारण लगानीकर्ता अन्यौलमा छन् । सिडिएसले नतिजा प्रकाशन गर्ने अन्तिम तयारी भईरहेको र ढिलोमा ४ बजेभित्र गरिसक्ने जानकारी दिएको छ।
आज गरिएको बाँडफाँड अनुसार ६८ हजार ४७४ जना छनौटमा परेका थिए । सो मध्ये ६८ हजार ४६८ जना जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने छ जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् । कम्पनीका अनुसार १९ लाख ९६ हजार १५० जनाको हात खाली भएको छ ।
कम्पनीले निष्काशन गरेको प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहन आएको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ ।