२० अर्बको चुक्ता पुँजिको निफ्राको मुनाफा ८३ करोड, लगानीकर्ता निराश

२२ श्रावण २०७८, शुक्रबार ०६:५९

काठमाडौं । नेपालको ठूला कम्पनी मध्येको एक नेपाल इन्फास्टक्चर बैंक (निफ्रा)को कूल चुक्ता पुँजि २० अर्ब छ । सो कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण आज सार्वजनिक गर्दै जम्मा ८३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । आठ अर्बको आईपिओ मात्रै निष्काशन गरेको निफ्राले अपेक्षाकृत मुनाफा आर्जन गर्न नसक्दा लगानीकर्ता निराश बन्ने देखिएको छ ।

वित्तीय विवरण अनुसार सो बैंकको खुद नाफा गत आवको तुलनामा घटेकोछ । ब्यालेन्ससिटमा आठ अर्ब रुपैयाँ पुँजि थप हुँदा पनि गत आर्थिक वर्षमा जति मुनाफा आर्जन गर्न नसकेपछि सो बैंकको व्यवस्थापनप्रति पनि प्रश्न चिन्ह उठेको छ ।
अघिल्लो आवमा ८४ करोड ७१ लाख ४६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको निफ्राले गत आव असार मसान्तसम्ममा ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा निफ्राको मुनाफा १.२६ प्रतिशत घटेको पाइएको छ ।

निफ्राले गत आवको तुलनामा सञ्चालन मुनाफा ७.९२ प्रतिशतले बृद्धि गर्र्न एक अर्ब १० करोडबाट एक अर्ब १८ करोड पुर्याउन सफल भएपनि मुनाफा भने घटेको हो । निफ्राले सो रकम बैंकमा राखेर ब्याज मात्रै एक अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैरसञ्चालन आम्दानी घटेका कारण खुद नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेको छ । बैंकको गैर सञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा झरेको छ । सोही कारण गत आवको तुलनामा खुद नाफा घटेको हो ।

नेपालको इतिहासमा सबैभन्दा ठूलो आईपिओ जारी गरेको निफ्राको प्रतिशेयर आम्दानी ४.१८ रुपैयाँ कायम हुन आएको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ११७.७० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*