नेपालमा बीमाङ्की शिक्षाः बीमाङ्कीय मूल्याङ्कनमा कोसेढुंगा

८ असार २०७८, मंगलवार १३:४७

नेपालमा बीमा व्यवसाय शुरु भएको सात दशक वितिसकेको छ । बीमा समितिले ५३ औं वार्षीकोत्सव मनाउदै गर्दा यसले नियमन गनुपर्न १९ जीवन बीमा, २० निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् भने थप एउटा पुनर्बीमा कम्पनीको आवश्यक महशुस गरी बीमा समितिबाट अनुमतिको लागि प्रक्रिया अघि बढाइएको अवस्था छ ।

बीमा क्षेत्र बिस्तारै फराकिलो हुदै छ । जनस्तरमा समेत बीमा सम्बन्धि चेतना विगतमा भन्दा दिन प्रति दिन बढ्दै गइरहेको छ । बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी प्रभावकारी एवम् क्षमतायुक्त बनाउनको लागि बीमा समितिलगायत सरोकारवाला निकायहरु प्रयासरत छन् । नेपालमा जीवन बीमाको दुई अर्ब, निर्जीवन बीमाको एक र पुनर्बीमा कम्पनीको दश अर्ब चुक्ता पूँजी तोकिएको छ । विस्तारै व्यवसाय बढ्दै जादाँ विद्यमान चुक्ता पुँजी कम हुने देखिन्छ ।

बीमाङ्की र यसको कार्य

घरको अवस्था कमजोर हुँदा सो घरमा आश्रित पुरै परिवार तनावमा भए जस्तै एउटा कम्पनी अस्वस्थ वा कमजोर हुँदा सो कम्पनीमा लगानी गर्ने लगानीकर्ता, कार्य गर्ने कर्मचारी र सोसँग सेवा लिने सेवाग्रही पुरै तनावमा हुन्छन् । कुनै पनि कम्पनी स्वस्थ हुनको लागि त्यसका सूचाकहरु सही ठाउँमा वा सकारात्मक हुनुपर्छ । बीमा कम्पनीहरुको सुचांक सहि ठाउँमा छन् छैनन्, के गर्दा सहि ठाउँमा ल्याउन सकिन्छ भन्ने कुरामा सही र बस्तुवादी भूमिका खेल्ने पात्र नै बीमाङ्की हो । यो विश्वकै सम्मानित र आकर्षक कमाइ हुने पेशा हो । बीमाङ्की गणितीय ज्ञान तथा सीपको आधारमा भविश्यमा आउन सक्ने जोखिम तथा घटनाहरुको सम्भाव्यताको आधारमा अनुमान गर्ने ज्योतिष विज्ञान पनि हो । बीमाङ्कीले फाइनान्सियल कन्सल्टेन्सी, बीमा कम्पनीहरु, जीवन बीमा, निर्जिवन बीमा तथा पुनर्बीमा, बैंक लगायत अन्य वित्तिय कम्पनी तथा संघ संस्थाहरुमा कार्य गर्दछन् । बीमाङ्कीले बीमकको आर्थिक स्थीतिको लेखाजोखा र दायित्वको मूल्याङ्कन गर्ने गर्दछन् । जुन कार्य रिर्जभ र प्रोभिजनसँग सम्बन्धित छ । बीमा कम्पनीमा बीमाङ्कीको कार्य भनेकै प्रडक्ट डिजाइन, प्राइसिङ, भ्यालुएशन, अन्डरराइटिङ र रिस्क म्यानेजमेन्ट नै हो जीवन बीमामा प्रिमियम निर्धारण र सोको दायित्वको मूल्यांकन सम्बधी कार्य गर्दछन् । विशेष गरी जीवन बीमा कम्पनीले जारी गर्ने बीमा पोलिसी जोखिमसँग सम्बन्धित हुने भएकाले हरेक कम्पनीमा बीमाङ्कीको स्थान महत्वपूर्ण र आवश्यक हुन्छ । वित्तीय क्षेत्रको कुनै पनि लगानी जोखिमको विश्लेषण तथा पूर्वानुमान लागि बीमाङ्की अनिवार्य रहन्छ ।

कानुनी प्रावधान तथा समस्याहरु

बीमा ऐन, २०४९ अनुसार आफ्नो आर्थिक स्थीतिको लेखाजोखा र दायित्वको मूल्याङ्कन बीमाङ्कीबाट गराउने कानूनी प्रावधान भएपनि नेपालमा दक्ष जनशक्ती नहुदाँ यहाँका बीमा कम्पनीहरुले बाह्य जनशक्तिको मुख ताक्नुपर्ने वाध्यात्मक परिस्थिति छ । यसरी वाह्य जनशक्तिको भरगर्दा एकातिर समयमा बीमाङ्कीय प्रतिवेदन तयार पार्न नसकी यहाँका बीमा कम्पनीहरु माथि सुशासनको प्रश्न खडा भएको छ भने अर्कातिर देशको करोडौ रुपियाँ विदेश गइरहेको छ । आर्थिक बर्ष व्यतित भएको छ महिनाभित्र वार्षिक साधारण सभा गर्नुपर्न कानुनी प्रावधान भएपनि बीमाङ्कीको अभावले यहाँका जीवन बीमा कम्पनीहरुले दुई बर्ष व्यतित हुदाँ समेत साधारण सभा गर्न सकिराखेका छैनन् ।

बैंक तथा वित्तिय संस्थाहरुले आर्थिक वर्ष २०७६।०७७ को  लाभांश प्रस्ताव गरेर साधारणसभा बोलाउदा समेत केही बीमा कम्पनीहरुले मात्रै बल्ल अघिल्लो आर्थिक वर्ष २०७५।०७६ को साधारणसभा गरिसकेका छन् । यति मात्र नभई बीमा कम्पनीहरुले आफ्नो वासलात तथा बीमालेखका लागि बाहिरी मुलुकका बीमाङ्कीलाई महगों रकम समेत तिर्नुपर्ने बाध्यता छ । बीमाङ्कीको अभावले बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तिय विवरण तयार पार्न बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु बीमालेख तयार पार्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबीमा पर्नसक्ने संख्याको पूर्वानुमान गर्न, कम्पनीको सम्पति तथा दायित्वको अवस्थाको मूल्याङ्कन गर्न, बीमितलाई प्रदान गर्नुपर्न वोनस दर निर्धारण गर्न, नयाँ पोलिसी जारी गर्न, प्रिमियम निर्धारण तथा सोको दायित्वको मुल्याङ्कन लगायत थुप्र्रै समस्या झेल्नुपरेको छ ।

यीनै समस्याहरुलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविधालयले गणित विज्ञान स्कुलमा २०७३ सालमा नेपालमा पहिलो पटक बीमाङ्की विज्ञान विषयको पठन पाठन शुरु गरेको थियो । यसले एकातिर देशकै दक्षजनशक्ति उत्पादन गरी करोडौ रुपयाँ बाहिरिनबाट रोक्ने र अर्कातिर समयमै बीमाङ्की प्रतिवेदन तयार पारी कम्पनीहरुको सु–साशनमाथि उठेको प्रश्नलाई समाधान गर्ने उद्देश्य राखेको छ ।

बीमाङ्की लागि चाहिने योग्यता

बीमा नियमावली, २०४९ को नियम ३५ बमोजिम बीमाङ्कीको योग्यता मान्यताप्राप्त ‘इन्स्टिच्यूट अफ एक्चुअरी’बाट फेलोसिप उपाधि हासिल गरेको हुनुपर्नेछ भनि तोकिएको छ । मान्यता प्राप्त धेरै वटा इन्स्टिच्यूट भएपनि प्रोफेशन रुपमा बीमाङ्की जाँच दिनका लागि हामीलाई IFOA-UK, SOA-USA र IAL-INDIA उपयुक्त हुनसक्दछ । यिनीहरु मध्ये IFOA  र LAI को कार्ष स्ट्रक्चर सखान खालको भएपनि SOA को अलि फरक छ । IFOA  बाट फेलो एक्चुरर हुनको लागी १३ पेपर तथा क्इब्  बाट १० विषयको परीक्षा पास गरेको हुनुपर्छ । LAI र ACET  दिएर मात्रै प्रोफेशनल पेपर दिन सकिन्छ भने IFOA तथा  SOA बाट सिधै प्रोफेशनल परीक्षा दिन सकिन्छ । व्रिटिस काउन्सिल, काठमाडौबाट IFOA को परीक्षा दिन सकिन्छ भने LAI बाट प्रोफेसनल जाँच दिनको लागि भारत नै जानुपर्ने अवस्था छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को कारणले विगत एकवर्ष देखि IFOA र SOA ले अनलाईन मार्फत मात्र परीक्षा लिने गरेको छ । हरेक विषयका पास हुनको लागि कम्तिमा पनि (५०-६०) प्रतिशत प्राप्ताङ ल्याएको हुनुपर्छ । प्रत्येक वर्ष अप्रिल र सेप्टेम्बरमा एक्चुअरीको प्रोफेशनल परिक्षा हुने गर्दछ । प्रोफेशनल परीक्षा दिनको लागि प्रति पेपर १३५ पाउन्ड देखि ३५० पाउन्डसम्म खर्च लाग्छ ।  जस अन्तर्गत CB series (CB1, CB2 / CB3) को लागि १३५ पाउन्ड, CS, CMseries (CS1,CS2,CM1,CM2), SP र SA series को लागि १८० पाउन्ड र क्ब् कभचष्भक को लागि ३५० पाउन्डसम्म खर्च लाग्छ । परीक्षा वापतको रकम तुलनात्मक रुपमा IFOA भन्दा SOA को कम छ । सामान्यतया २ अथवा ३ पेपर पास गरी सकेपछि विश्व बजारमा सजिलै काम पाउँन सकिन्छ । बीमाङ्कीले नेपालमा मात्रै नभएर विश्वका जुनसुकै ठाउँमा गएर काम गर्न सक्ने हुँदा यसको बजार धेरै फराकिलो छ ।

बीमाङ्की कोर्षको अवस्था र क्षेत्र

त्रिभुवन विश्वविधालयले गणित विज्ञान स्कुलमा २०७३ सालमा नेपालमा पहिलो पटक बीमाङ्की विज्ञान विषयको पठन पाठन शुरु गरेको छ । यो कोर्ष पढ्नको लागि जुनसुकै संकायबाट १०० पूर्णाकंको गणित वा वाणिज्य गणित विषय लिई कक्षा १२ वा सो सरहको विषयमा कम्तिमा द्धितिय श्रेणी वा ग्रडीङ प्रणालीमा सी जिपीए २.० वा सो भन्दा बढी प्राप्ताङ्क ल्याई स्कुलले तोकेको प्रवेश परीक्षा उर्तिण गरी याग्यताक्रम अनुसार प्रति वर्ष ३६ जना विद्यार्थीहरुको भर्ना लिने गरिन्छ ।

हाल गणित स्कुलमा पहिलो सत्र (२०७३) २६, दोश्रो व्याचका २४, तेश्रो व्याचका २८, चौथो व्याजका ३५ र पाँचौ व्याचका ३६ गरी जम्मा १४९ जना विद्यार्थीहरु अध्ययनत छन् । १७ जना विद्यार्थीहरुले SOA  बाट र एक जना विद्यार्थीले SOA बाट प्रोफेशनल परीक्षा दिई कम्तिमा एक विषय देखी ४ विषय सम्म उर्तिण गरिसकेका छन् । भने दुई विषयको जाँच दिई नतिजाको पर्खाइमा छन् । यहाँका विद्यार्थीहरुले फेलोसिप प्राप्त गर्न अझै दुई अथवा तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

नेपालमै  पहिलो पटक अध्यापन गराउन थालिएको यो विषय पढ्नका लागि चार लाख ८४ हजार शुल्क लाग्छ । तुलनात्मक रुपमा यो शुल्क छिमेकी देशहरु भन्दा निकै कम हो । त्रि.विको नियम अनुसार एक सेमेस्टर चार जनाले छात्रवृत्ति पाउछन् । स्कुलको नीति अनुरुप शुरुका सेमेस्टरमा प्रवेश परीक्षा उच्चतम अंक लउने एक जना विधार्थीलाई र बाँकी रहेका तिन जना सरकारी वा सामुदायिक स्कूलबाट अध्ययन गरेक विधार्थीहरुलाई छात्रवृत्ति दिईन्छ । प्रथम सेमेष्टर बाहेक अन्य सेमेष्टरमा जाँचको नतिजाको आधारमा छात्रवृत्ति वितरण गर्ने प्रावधान रहेको छ । स्नातक तहको यो कोर्षमा आठ ओटा प्रोफेशनल कोर्ष कोर तथ्याङ्क २, कोर गणितीय २, कोर ब्यापार ३ र प्रतिनिधान प्राक्टिकल १ को साथै गणित, तथ्याङ्कशास्त्र, कम्प्युटर लगायत अन्य व्यवस्थापनका विषयहरुको अध्यापन समेत गराइन्छ ।

यसले कुनै पनि क्षेत्रको अध्ययन, अनुसन्धान तथा प्रयोगको लागि नितान्त आवश्यक आधारचभुत गणितीय भाषा तथा ज्ञान, परिमाणत्मक तथा विश्लेषणात्मा निस्कर्ष, सरल प्रस्तुतिकरण आदीको लागी तथ्याङशाास्त्रीय ज्ञान विधि र ती सबैको लागी अपरिहार्य कम्प्युटरको ज्ञान तथा सीपलाई आधारशीला मानी अन्तर विधात्मक तथा बहुआयामिक विषयको रुपमा यो कोर्ष सञ्चालन गरिएको छ ।

जीवन बीमा व्यवसाय गर्न बीमकको बीमाङ्कीय मुल्याङ्कन सम्वन्धि निर्देशिका २०७७ अनुसार बीमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र अनुसुची ३ वमोजिमको ढाँचामा बीमाङ्कीय मूल्याङ्कन पेश गरि सक्नुपर्नेछ र सोही नियमको ३ मा जीवन बीमातर्फ अनुभव भएका बीमाङ्कीलाई मात्र बीमकले नियुक्ति गर्नुपर्ने र नेपालमा दर्ता भएका एउटा बीमकको बीमाङ्कीलाई अर्को बीमकले बीमाङ्की नियुक्ति गर्न पाईने छैन भनी उल्लेख गरेकोले कम्तिमा पनि जीवन बीमा कम्पनीका लागि १९ र बीमका समितिका लागि एकजना गरी २० जना बीमाङ्कीको तुरुन्तै आवश्यकता छ । यस वाहेक निजिवन बीमा र पुनर्बीमा कम्पनीका पनि त्यत्तिकै आवश्यकता छ । एनएफआरएस प्रणलीमा प्रतिवेदन पेश गर्नुपर्ने भएकाले बीमा कम्पनीका साथसाथै बैंक, नागरिक लगानी कोष, सञ्चय कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषमा पनि बीमाङ्कीको महत्वपूर्ण भुमिका हुने देखिन्छ । विदेशतिर यी संस्थाहरुमा पनि बीमाङ्की अनिवार्य जस्तै भइसकेका छन् । नेपालमा पनि विस्तारै बीमाङ्कीको सहयोग लिने चलन पक्कै बढ्ने हुँदा बीमाङ्कको स्कोप दिनदिनै बढिरहेको छ ।

बीमाङ्कीको समस्या समाधानका उपायहरु

जीवन बीमा कम्पननीहरुले मृत्युको जोखिम विरुद्ध वित्तीय समाधान प्रदान गर्दछ । बीमाकर्ताहरुबाट प्रदान गरिएका प्रोडक्टहरु दीर्घकालीन सम्झौताका आधारमा हुन्छन् । जसले बीमा अवधिभर कम्पनीहरुलाई बीमितप्रति उत्तरदायी बोध गराउँदछ । बीमाङ्कीले विविध मोडल तथा सम्भाव्यताको आधारमा जोखिम घटाउन मद्दत गर्दछ । कम्पनीहरुले लिने हरेक निर्णय तथ्याङ्मा आधारित हुनुपर्छ । जसको विष्लेषण बीमाङ्कीले गर्दछ । नेपाली बीमा कम्पनीहरुले बीमाङ्कीय प्रतिवेदन विषलेषणका लागि भन्दा पनि नियमन निकायको बाध्यातमक परिस्थितिका कारण तयार गर्दछन् । नेपालमा बीमाङ्की अध्ययन गर्ने विद्यार्थीहरुले अनुभवी बीमाङ्कीबाट केही प्रशिक्षण र मार्ग निर्देशन पाए खर्च बिश्लेषण, उत्पादन मुल्य निधारर्ण र उपज गणना जस्ता धेरै कार्यहरु गर्न सक्षम हुनेछन् । बीमाङ्की विद्यार्थीहरुको प्रमुख भूमिका भनेको बीमाङ्कीले तयार गरेको प्रतिवेदनको व्याख्या गर्नु तथा बीमाङ्की र कम्पनीबीच पुलको काम गर्नु हुनेछ । यसले कम्पनीहरुलाई उचित निर्णयका साथै नियामक कार्यलाई सजिलो पार्दछ । जसले हाल भइरहेको कम्पनी व्यवस्थापन र बीमाङ्कीहरु बीचको सञ्चार बाधा तोड्नका साथै बीमा व्यवसायले अरुको रुप लिनसक्छ ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुले कर्मचारी लाभ, तरलताको पर्याप्तता परिक्षण गणक सम्बन्धि कार्य अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । जसमा प्रयोग हुने आइबिएन आरयुपिआर, पि डि आर विद्यार्थी बीमाङ्कीले रन अफ ट्रलिङको मोडेल तयार पारी सजिलै गर्न सक्छन् । बीमा क्षेत्रमा प्रयोग हुने शब्दावलीहरु तथा मुल्य निर्धारण, बस्तुको मुल्यको राम्रो ज्ञान हुने भएकाले बीमकसँग सहकार्य गरेर बीमा कम्पनीमा आउने समस्या सहजै पत्ता लगाई त्यसको हल गर्न र बीमा कम्पनीको कार्य सम्पादन तथा कम्पनीको लागतलाई कम गर्न विधार्थी बीमाङ्कीले महत्वपूर्ण भुमिका खेल्ने सक्दछन् । जसबाट अहिलेको समस्या न्यूनिकरण भई बीमा कम्पनीहरुबाट बर्षेनी बाहिरिने करोडौं रुपैयाँ जोगिन सक्छ ।

निष्कर्ष

बीमाङ्की आपूर्ति भन्दा माग नै बढी छ । अन्य जनशक्तिको तुलनामा विश्व बजारमै  बीमाङ्कीको संख्या कम छ । हाल नेपालमा एकजना मात्रै फेलो एक्चुअरी रहेको छ भने आइ एफ व य तथा एस व य बाट ४ अथवा ५ पेपर भन्दा बढी पास परिसककेको विधार्थीहरु बीमाङ्कीको संख्या २५(३० जति छ । यदि विद्यार्थी बीमाङ्कीलाई व्यवस्थापकीय तालिम प्रदान गरी काममा लगाउने हो भने नेपालमा बीमा कम्पनीहरुलाई पक्कै पनि राहतको महसुस हुनेछ । यहाँका बीमा कम्पनीहरुले बीमा समितिको वाध्यात्मक निर्देशनका कारण बीमाङ्की प्रतिवेदन वाह्क जनशक्तिबाट तयार गर्ने लगायतका काम गर्दै आएका छन् ।

बीमा समितिले यो कुराको अपुग भयो भनेर अस्वीकृत गर्न सक्ने अवस्था छैन । सो प्रतिवेदनलाई जस्ताको त्यस्तै बाहिरी पठाउनुपर्ने बाध्यातात्मक स्थिति छ । जसरी सुरुका वर्षहरुका चार्टर एकाउटेन्ट नहुँदा व्यवस्थापन विषय पढेको जनशक्तिलाई लेखापरिक्षण गर्न दिइन्थ्यो सोही अनुसार देशमा फेलो एक्चुअरी नहुँदासम्म हरेक कम्पनीमा बीमाङ्की विषयमा स्नातक तह पास गरी मान्यता प्राप्त इन्स्टिच्यूटबाट ४ अथवा ५ पेपर पास गरेका विधार्थी बीमाङ्कीलाई राखी कार्य गरेमा पक्कै पनि कम्पनी तथा निकायलाई सहज हुनेछ । यसतर्फ सबै कम्पनी तथा नियामक निकायको ध्यान जानु आवश्यक छ ।

(लेखक गणित विज्ञान स्कूल, त्रिवि, बल्खुका कार्यक्रम संयोजक हुन् । प्रस्तुत सामग्री ‘बीमा समाचार र विचार’, ‘५३ औं बार्षिकोत्सव विशेषांक–बीमा समिति’बाट साभार गरिएको हो ।)

 

2 thoughts on “नेपालमा बीमाङ्की शिक्षाः बीमाङ्कीय मूल्याङ्कनमा कोसेढुंगा

  1. एकारत्न आचार्य says:

    लेख समसामयिक र अनुसन्धानात्मक र राम्रो छ। बधाई छ केशव सर।

  2. वासु काफ्ले says:

    हार्दिक बधाई र शुभकामना।
    सरल किसिमले विमाङ्कीय शैक्षिक अवधारणा र यथार्थता खुलाएको उपयोगी जानकारी।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*