सगरमाथा आरोहीलाई राष्ट्रिय बाणिज्य बैंकको सहहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथा आरोही पूर्ण कुमार शेर्पाको बाबु छोरालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे । कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए ।
फादर एन्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सात महादेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताउँदै आएका छन् । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोहीदललाई धन्यवाद ज्ञापन गर्दै, किर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।