धनीको ढोकामा अभिकर्ताको लाइन लाग्ने, निमुखा जनताले खोज्दा नभेट्टाउने अवस्थाको अन्त्य जरुरी छ
राजु साह एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन् । आठ वर्ष पत्रकारिता क्षेत्रमा रहेर बारा, पर्सा लगायतका तराई मधेशमा योगदान पुर्याएका साह अहिले इन्स्योरेन्स एडभाइजरको रुपमा कार्यरत छन् । पर्सा जिल्लाको बीरगन्जमा जन्मेका साह हाल बारा सदरमुकाम कलैयालाई आधार क्षेत्र बनाई तराइ–मधेशका गरिब झुपडीहरुमा बीमा जनचेतना जगाउँदै बीमाको व्यवसाय गर्दै जीविकोपार्जनमा सक्रिय छन् । सफलताको लागि धैर्यता र निरन्तरता अनि इमान्दारिता चाहिने बुझेका साह जनताकै बीचमा बीमा सम्बन्धी जनचेतना जगाउँदा जगाउँदै मर्न पाउँदा खुशी हुने धारणा राख्दछन् । प्रस्तुत छ, उनै साहसँग बीमापोष्ट प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेपः
–एसियन लाइफ इन्स्योरेन्समा बीमा क्षेत्रमा काम गर्दे हुनुहुन्छ के छ अभिकर्तालाई गारो सारो ?
सबै भन्दा मुख्य समस्या भनेको अभिकर्तालाई बीमा क्षेत्रमा पैसा कमाउन सकिन्छ भनेर बोलाइने गरिन्छ तर शिक्षा जुन दिने कार्य छ नि त्यो शिक्षाको कमी छ त्यसको कारणले सम्पूर्ण बीमा बजारमा नै ग्राहक यो समस्या भइरहेको छ बीमाको यथेस्ठ कन्सेप्ट बुझेको अबस्था छैन । आफन्त, नातेदारको आधारमा इन्स्योरेन्स भइरहेको छ कसैको मन खुसी पार्नको लागी इन्स्योरेन्स भइरहेको हुनाले यथस्ठ रुपमा इन्स्योरेन्सको महत्व बुझेर इन्स्योरेन्सलाइ फोकस गरेर शिक्षा दिनुपर्ने हो । अभिकर्तालाई त्यो भइरहेको छैन । सिधा असर कम्पनीले आफ्ना अभिकर्तालाई दिने शिक्षा कमी देखिएको छ ।
– बीमा जनचेतना र शिक्षाम धेरै जोड दिनुभयो, जसमा कम्पनीहरुले के–के गरेको भए राम्रो हुन्थ्यो, यसमा तपाईको सुझाव के छ ?
एउटा शिक्षक बन्नलाई डिग्रीसम्मको शिक्षा चाहिन्छ । त्यस्तै बीमा अभिकर्ताको लागि पनि पर्याप्त ज्ञान भएको अभिकर्ता चाहिन्छ । देशमा जिम्मेवारी क्षेत्रमा कार्यरतहरु शिक्षक, पत्रकार, नेता, डाक्टर, इन्जीनियरको जीवनको जोखिम र सुरक्षाबारे विश्लेषण गर्ने मानिसले औपचारिक शिक्षा जे जस्तो भएपनि जोखिम, आम्दानी मूल्याङ्कनको पर्याप्त ज्ञान हुनु अनिवार्य छ । बीमा फिल्डको बारे शिक्षा हुनुपर्न जरुरी हुन्छ । यसैले यो क्षेत्रमा आउनलाई बीमा सम्बन्धि शिक्षा दिन अति आवश्यक हो ।
– बीमा समितिले कम्पनीहरुलाई प्रत्येक अभिकर्ताहरुलाई बार्षिक रुपमा अभिमुखीकरण गर्नु पर्छ भन्ने छ तपाईहरुलाइ त्यस्तो तालिमहरु हुदैनन् ?
तालिम, अभिमुखीकरण कार्यक्रमहरु भइरहेका हुन्छन् । त्यो अलि प्रभावकारी र नतिजामुखी बनाउनु जरुरी छ । अझ अर्को कुरा निश्चित टार्गेट दिएर त्यस्तो टार्गेट पूरा गर्नेलाई मात्रै तालिममा सहभागी गराउन गरिएको छ, त्यस्तो टार्गेट पूरा नगर्ने, नव प्रवेशी र तल्लो बर्गका अभिकर्ताहरु तालिमबाट बञ्चित हुँदै आएका छन् । जो अभिकर्ता सानो र भर्खर इन्स्योरेन्समा सिकारु अभिकर्ता छ हो त्यसलाई शिक्षा दिइएको छैन । नयाँ आउनेलाई शिक्षा दिएपछि अनि पो त्यो मान्छे बीमा क्षेत्रको दक्ष बनेर जान सक्दछ । जस्तै अहिले धेरै युवा बिदेशमा जादै छन नेपालमा रोजगारी छैन भनेर तिनीहरुलाई अभिकर्ताको तालिम दिएर बीमा कम्पनीमा आबद्ध गर्न सकेमा ठूलो लाभ देश लिन्छ, युवाहरुले लिन्छन् ।
– त्यसो भए अहिले इन्स्योरेन्स क्षेत्रमा अभिकर्ता उत्पादन गर्ने कार्यशैलीलाई बदल्नुपर्ने र आधुनिकिरण गर्नुपर्छ भन्ने तपाईको भनाइ हो ?
आधुनिकण गर्नु पर्यो। दक्षतासहितका उत्पादन गर्नुपर्यो इन्स्योरेन्स किन गराउने अनि पुरानो शैलीको ‘दुर्घटनामा दोब्बर पाइन्छ’ भनेर मात्र बीमा गर्ने होइन । अब यो कुरा पुरानो भइसक्यो । आजको आधुनिक युग, प्रविधि सुहाउँदो तालिम सहित दक्षतायुक्त बनाएर अघि अभिकर्ताहरुलाई सुसज्जित बनाउनु पर्दछ ।
– तपाई अहिले तराई–मधेसलाई फोकस गरेर बीमा व्यवसाय गरिरहनु भएको छ कस्तो अनुभव भइरहेको छ ?
आज भन्दा करीब ५ बर्ष अगाडी बीमा क्षेत्रमा म आउँदा शिक्षाको कमी थियो र त्यो बेला भारतको एलआईसी कम्पनीले बीमा गराइररहेको थियो । बिदेशी बीमा कम्पनीमा काम गर्न तौर–तरिका नहुँदा, आवश्यक शिक्षा नहुँदा धेरैको पैसा डुब्यो भनेर समस्या देखा परेका थिए । अहिले आएर त्यो समस्या बिस्तारै अन्त्य भएको छ । भारतीय कम्पनीहरुमा बीमा गराउने कार्य बन्द भएको छ । नेपालमै १९ वटा बीमा कम्पनीका अभिकर्ताहरु सहित हामी पनि फिल्डमा खटिइरहेका छौं । भारतीय बीमा कम्पनीमा बीमा नगराउनु होस्, यदि विगतमा गराएको समय पुरा गरेर फिर्ता गर्नुस्, भनेर सचेत गरायौं । अहिले यहाँका बीमीतहरुलाई नेपाल बीमा प्रति आर्कषण बढेको छ । अर्को कुरा म मधेशका झुपडीहरुमा केही हजार, एक लाख रुपैयाँ बीमाङ्कको बीमा गराउनमै व्यस्त छु । यसबाट मलाई मनभित्रै आनन्द आइरहन्छ । कारण के हो भने, धनी मानिस लाखौं, करोडौंको बीमा गर्छन, कुनै कारणबश दुर्घटना भइहालेमा उनीहरु आफै धनी छन्, आर्थिक रुपमा कुनै समस्या पर्दैन । गरिब झुपडी बस्तीका जनता जो दैनिक कमाएर दैनिक खर्च गर्छन कुनै कारणबश मृत्यु भएमा अन्तिम संस्कार गर्ने पैसा समेत हुँदैन । सम्झन्छु, त्यस्तो परिवारले जीवनमा एक लाख रुपैयाँ कहिल्यै देखेको हुँदैन, मासिक हजार दुई हजार बचत गरेर गरेको बीमाबाट दुःख, आपत पर्दा प्राप्त हुने राहतले आर्थिक जोखिम न्यून हुन गई बिपतको बेला बीमा आम सर्वसाधारणको अभिन्न अंग बन्न पुग्दछ । त्यसैले गरिब, न्यून आएका भएका जनताको लागि जीवन बीमा निकै महत्वपूर्ण छ । त्यस आधारमा कहिले काँही जीवनमा निकै खुशी पनि हुन्छु ।
– बिशेष गरी तपाईले तराई क्षेत्रमै काम गर्नुको कारण र झुपडी बस्ती नै किन रोज्नुको कारण के हो ?
यहाँ धेरै ग्रामिण क्षेत्र भएको गरिब देखी धनाढ्यहरु पनि छन । अहिले पनि तराईमा दाइजो प्रथा कायम नै रहेको छ । कतिपय मानिस छोरीलाइ दाइजो दिन र छोरालाई शिक्षा दिन जग्गा बेचिरहेका छन् । त्यो समस्याको समाधानको लागि बीमा एक मात्रै विकल्प हो । कमाउने उमेरदेखि नै शिक्षा र विवाह जस्ता भविष्यमा आईपर्ने ठूलो खर्चको लागि बचत हो बीमा । मैले पत्रकारिता गर्दा पनि यो समस्याबारे निकै चिन्तित भइरहन्थे । अहिले म आफै अभियान चलाइरहेको छु, विवाह तथा शिक्षादिक्षामा लाग्ने खर्चको लागि आजै देखि बचत गर्न सिकाउँदैछु । यो क्षेत्रमा बीमा गर्नु पर्छ भन्ने चेतना दिनुको अर्थ तराई मधेशका आम समस्याको समाधान निकाल्नु पनि हो । अर्को कुरा दिनभरी मजदुरी गरेर कमाइने पैसा गलत प्रयोग गर्नुभन्दा अलिकति भए पनि बीमामा बचत गर्नुपर्छ भनेर यहाँका बासिन्दालाइ सन्देश दिने सबैको घरदैलोमा जाने काम गरेको हुँ ।
– बीमा गराउनुपर्छ भनेर किन गरीबको घरदैलोमा बढी जानु हुन्छ ? अलि उच्च वर्गका माँझ किन कम जानु हुन्छ ?
मैले माथि पनि भने, त्यसमा ठोस अर्थ छ । कोरोनाकालमा धनि वर्गहरुमा मोजमस्ती थियो छ । तर मध्यम वर्ग जो दिनभरी मजदुरी गर्छन् घर बनाउने, ठेला चलाउने, अटो चलाउने, दैनिक मजदुरी गर्नेहरुको काम रोकियो । उनीहरु भोकै बस्नुपर्ने अवस्था आयो । त्यो बेला बीमा कम्पनीहरुले बीमा पोलिसी धितो राखेर करोडौं रुपैयाँ कर्जा प्रदान गरेको थियो । छिटो र छरितो प्रदान गरेकोले जनताले बचत भनेको बीमा पो रहेछ भनेर विश्वास गर्ने अवस्था आएको छ । त्यो बेला सहकारी, बैंकहरुले लोन नदिएको अबस्थामा बीमा कम्पनीहरुले खुरुखुरु ऋण दिए । बीमा कम्पनीहरुले अतिरिक्त शुल्कमा पनि छुट दिएको थियो । एउटा पाटो यो अर्का पाटो भनेको यस्तो अबस्थामा कसैको मृत्यु भयो भने किरिया खर्च दाहसस्कार गर्ने पैसा नहुँदा बीमा कम्पनीहरुले त्यो खर्च जुटाएको छ । घर–जग्गा बेचेर दाहासंस्कार गर्नुपर्न अवस्था छैन यही सन्देश मुलरुपमा दिनको लागी म ग्रामीण क्षेत्रमा छिरेको हो ।
– बीमा क्षेत्रमा काम गर्दै हुनुहुन्छ कहाँसम्म पुग्छु ? कतिसम्म गर्छु जस्तो लागेको छ ?
म बीमा क्षेत्रमा कसैलाई शिक्षा दिँदै बुझाउदै गरेको बेला मर्न पाए हुन्थ्यो भन्ने लागेको छ । मलाई यो फिल्डमा यति धेरै माया छ, म यो फिल्डमा व्यवसायिक रुपमा दक्षतायुक्त अभिकर्ता बनाउने र नेपाली बीमा क्षेत्रको राम्रो प्रशिक्षक भएर मर्ने अन्तिम इच्छा छ ।
– अहिले तपाईसँग आबद्ध भएर काम गर्ने अभिकर्ताको संख्या कति छ ।
दुई बर्षदेखि हाम्रो समुहमा अभिकर्ता जोड्ने कार्य भइरहेको छ । अहिले देशकै ९ वटा जिल्लाबाट ४० जना साथीहरुलाई जोडेर काम गरिरहेको छु । बारा, पर्सा, सर्लाही, जनकपुर, काठमाडौं, र्दाचुला, हेटौडाका अभिकर्ता साथीहरु मसँग सहकार्य गरेर काम गरिरहनु भएको छ ।
– तपाई अहिले मधेसमा बीमा व्यवसाय गरिरहँदा आम्दानीको मुख्य स्रोत महिला पुरुष कसमा बढि देख्नुभाको छ ?
स्रोत जुटाउनुमा यहाँका पुरुषहरु धेरै मेहेनेती भए पनि पैसाको बचतप्रति पुरुषहरुमा त्यो सचेतता देखिदैन । तर महिलाहरु अशिक्षित भएपनि छोराछारीको शिक्षा औषधी उपचार तथा घरमा आइलाग्ने समस्याका लागी बचत गरेको देखिन्छ । महिलाहरुमा चाहि अलि बढि बचत गर्न बानी भएको मेरो अनुभव छ ।
अन्त्यमा….
म सबै बीमा अभिकर्ता साथीहरुलाई एकताबद्ध भएर बीमा व्यवसायको हितमा काम गर्नु आह्वान गर्दछु । बीमा समितिले पछिल्लो पटक बीमा अभिकर्तामाथि निर्मम प्रहार गर्दैछ । बीमा अभिकर्तामाथि चारैतिरबाट प्रहार भइरहेको छ । बीमा व्यवसाय देशको मेरुदण्ड हो । बीमा निमुखा बर्गका जनताको घर दैलोमा पनि पुग्नु पर्दछ । बीमामा बचत गर्न हुँदा खाने र हुनेखाने दुवै बर्गको समान पहुँच हुनुपर्दछ । धनीहरुको ढोकामा बीमा अभिकर्ताको लाइन हुने गरिब जनताले बीमा अभिकर्ता खोज्दा नभेट्टाउने अवस्थाको अन्त्यको जरुरी छ ।
–प्रस्तुत अन्तर्वार्ता प्रतिस्पर्धा साप्ताहिकमा समेत प्रकाशित छ ।