लकडाउनकै बीचमा प्राइम लाइफको फड्को, जीवन बीमा कोषमा १४ अर्ब, खुद बीमा शुल्क र मुनाफा दुवै बढ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप अब्बल बनेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषको आकार १४ अर्बको पुर्याउन सफल भएको छ । गत आवको सोही अवधीमा जम्मा १० अर्ब छ करोड ६० लाख रुपैयाँ जीवन बीमा कोष रहेको कम्पनीले कोरोना महामारीकै बीचमा बीमा शुल्क आर्जन ३७.५ प्रतिशतले बृद्धि गरी जीवन बीमा कोषको आकार १४ अर्ब ३६ लाख १९ हजार पुर्याउन सफल भएको हो ।
कम्पनीले महाविपत्ती कोष, जगेडा कोष सहित कूल १४ अर्ब ७७ करोड ६५ लाख ८५ हजार रुपैयाँ कोषमा जम्मा गरेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषसहितका कोषहरु निकै महत्वपूर्ण हुन्छन् । जीवन बीमा कोषकै आधारमा कम्पनीले बढि बोनस दिन सक्ने तथा लाभ दिन सक्ने हुँदा बीमितहरुको हितका लागि समेत जीवन बीमा कोष महत्वपूर्ण हुन आउँछ ।
कम्पनीले सञ्चालन अवधीमा तीन अर्ब सात करोड ६६ लाख आठ हजा रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन गत आवको तुलनामा ३७.५० प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवको समीक्षा अवधीमा जम्मा दुई अर्ब २३ करोड ७५ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकामा कोरोना महामारीका बीचमा कम्पनीले बीमा व्यवसाय उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको देखिएको छ ।
त्यस्तै, कम्पनीको दावी भुक्तानी ७३ प्रतिशतले बृद्धि हुँदा ८७ करोड ३१ लाख ४४ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यसैगरी, कम्पनीले ३४ करोड ८५ लाख १९ हजार रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ । तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको व्यवस्थापन खर्चमा उत्कृष्ट देखिएको छ । बीमा व्यवसाय ३७ प्रतिशतले बृद्धि हुँदा व्यवस्थापन खर्च जम्मा ८.८१ प्रतिशतले मात्रै बढेको छ । गत आवमा ४० करोड खर्च गरेको कम्पनीले चालु आवको नौ महिनामा ४३ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको खुद नाफा २४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आवमा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
कूल दुई अर्ब ४१ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीको प्रतिशेयर आम्दानी १२.६१ पैसा, प्रतिशेयर नेटवर्थ १३१.९८ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७५५.७० रुपैयाँ रहेको छ ।